नमोबुद्धलाई विश्व सम्पदामा सूचीकृत गर्ने प्रक्रिया सुरु
काठमाडाैं | पुस २२, २०७९
काभ्रेपलाञ्चोक: ऐतिहासिक एवम् पर्यटकीय स्थल काभ्रेपलाञ्चोकको नमोबुद्धलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने प्रक्रिया थालिने भएको छ । नमोबुद्ध नगरपालिकाले नमोबुद्ध क्षेत्र ऐतिहासिक, पर्यटकीय एवम् धार्मिकस्थल भएकाले विश्व सम्पदामा सूचीकृतका लागि आवश्यक थप प्रक्रिया अघि बढाइने दोस्रो नगरसभाले निर्णय गरेको हो ।
नगरको ११ नं वडास्थित धार्मिक, ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक, वातावरणीय तथा प्राचीन महत्व बोकेको विश्वप्रसिद्ध नमोबुद्ध मन्दिर परिसरलाई मौलिक स्वरूप कायम गर्न नगरले निर्माण गरेको दीर्घकालीन गुरुयोजनालाई सम्बन्धित सरोकारवालाको सहकार्य, सहयोग र समन्वयमा थप परिमार्जन गरी विश्व सम्पदा सूचीमा सूचीकृत गर्न आवश्यक प्रक्रिया अगाडि बढाई थप पहल गर्ने बिहीबारको नगरसभाले विशेष प्रस्ताव पारित गरेको हो । नगरले यसअघि नै गुरुयोजना बनाएर काम अघि बढाएको छ भने सरोकारवालासँग विभिन्न चरणमा छलफल गरेको छ ।
सम्पदामा सूचीकृत गर्ने मापदण्ड करिब पुगिसकेकाले नगरको योजनामा समेटिएकाले संयुक्त राष्ट्रसङ्घीय अङ्ग (युनेस्को)का नेपाल प्रतिनिधिलाई औपचारिक रुपमा अवलोकन–भ्रमण गराउने योजना बनाएको थियो । पर्यटकीय स्थल नमोबुद्धलाई विशेषगरी बौद्ध धर्मावलम्बीको तीर्थस्थलका रुपमा समेत लिइने गरिन्छ ।
शान्तिका प्रतीक गौतम बुद्धको पूर्वजन्ममा ‘राजकुमार’ले देहत्याग गरी बघिनीलाई जीवन प्रदान गरेको स्थलको रुपमा नमोबुद्ध लाई मानिन्छ । बुद्धले लुम्बिनीमा पुनर्जन्म प्राप्त गरेपछि पूर्वजन्ममा जीवन त्याग गरेको भूमिमा ‘नमोबुद्धाय नमः’बाट नमोबुद्ध नामकरण गरिएको विश्वास छ । किंवदन्तीअनुसार द्वापरयुगका उनै राजकुमारको अस्थिपञ्जर गाडी बनाइएको चैत्य र जीवन त्याग गरेको स्थानमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा पूजाअर्चना र दीप प्रज्वलन गर्न बौद्ध धर्मावलम्बीको निकै ठूलो भीड लाग्ने गरेको छ । हाल सो स्थानमा विशाल गुम्बा, मन्दिर, गुम्बा र चैत्य छन् । गुम्बामा बुद्ध पाठशालासमेत छ ।
यसैबीच, नगरले नमोबुद्धलाई विश्वकै नमुना पर्यटकीय स्थल बनाउन गुरुयोजना तयार गरी काम अघि बढाइएको छ । रु. ८७ करोड लागतको विस्तृत परियोजना प्रतिवेदन ९डिपिआर० तयार गरी काम अघि बढाइएको हो । नमोबुद्ध क्षेत्रमा पर्यटन विकासका लागि सिँढी, पर्खाल, दुई स्थानमा प्रवेशद्वार, सडक बत्ती, सौर्य बत्ती, ढुङ्गा छाप्ने, सार्वजनिक शौचालयलगायतका पूर्वाधार विकासका काम भइरहेको छ ।
सुरक्षा व्यवस्थापनका लागि सिसिटिभी क्यामेरा जडान गरिएको छ भने डिपिआर अनुसार थप काम अघि बढाउन सङ्घीय पर्यटन मन्त्रालय, प्रदेशस्थित पर्यटन मन्त्रालयलगायत सरोकारवाला निकायमा पहल गरिएको नगरका प्रमुख प्रशासकीय अधिकृत शिवप्रसाद लम्सालले बताउनुभयो ।
उहाँका अनुसार ‘नमोबुद्ध भगवान् घ्याँ’ गुठी व्यवस्थापन समिति गठन गरी संस्थागत विकास गर्न पहल भएको छ भने समितिले नै मन्दिर र गुठीमा सङ्कलन भएको दान, भेटी पनि समितिमार्फत व्यवस्थित गर्न थालेको छ ।
जिल्ला सदरमुकाम धुलिखेलबाट १३ किलोमिटर तथा सङ्घीय राजधानी काठमाडौंबाट ५० किलोमिटरको दूरीमा रहेको पर्यटकीय क्षेत्र नमोबुद्ध पुग्ने काभ्रेभञ्ज्याङदेखि फूलबारी सडकखण्ड असहज हुँदा पर्यटकले सास्ती ब्यहोर्दै आएका छन् । पनौतीबाट शङ्खु उपत्यका हुँदै र पर्यटकीय नगरी धुलिखेलबाट हाइकिङ गर्दै पुग्न सकिने नमोबुद्धबाट मनोरम हिमशृङ्खला देख्न सकिन्छ ।
यस्तै, काभ्रेपलाञ्चोकको ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा पुरातात्विक नगर पनौती मन्त्रिपरिषद्को निर्णयलगत्तै विश्व सम्पदामा सूचीकृत हुने भएको छ । पनौती विश्व सम्पदामा सूचीकृत गर्न युनेस्कोद्वारा २५ वर्षअघि प्रस्ताव गरिएको क्षेत्र हो । सूचीकृतको अन्तिम प्रक्रिया मन्त्रिपरिषद् बैठकको निर्णयको पर्खाइमा रहेको नगर उपप्रमुख गीता बञ्जाराले बताउनुभयो ।
पनौतीलाई सरकारले प्राचीन स्मारक संरक्षण ऐन २०३१ अनुसार २०५८ सालमा ‘स्मारक क्षेत्र’ घोषणा गरिसकेको छ । सूचीकृतको मन्त्रालयगत प्रक्रिया सकिएको र मन्त्रिपरिषद् बैठकले निर्णय गर्न बाँकी रहेको बञ्जाराले जानकारी दिनुभयो ।
युनेस्कोले कुनै पनि राष्ट्रको विशेष सांस्कृतिक महत्व राख्ने (जस्तैः वन, पहाड, ताल, द्वीप, मरुभूमि, स्मारक, भवन, वा सहर) धरोहरहरुलाई आफ्नो सूचीमा सूचीबद्ध गर्ने गर्दछ । जुन विश्व सम्पदा समितिद्वारा चयन गर्ने गरिन्छ । सोही समितिले नै यस सम्पदा क्षेत्रको रेखदेख युनेस्कोको तत्वावधानमा हुनेछ ।
पुरातत्व विभागका अनुसार नेपालको चार क्षेत्रलाई विश्व सम्पदा सूचीमा सूचीकृत गरिएको छ । जसमा काठमाडौं उपत्यका (उपत्यका सात क्षेत्रः काठमाडौं दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, पशुपतिनाथको मन्दिर, स्वयम्भूनाथ, बौद्धनाथ र चाँगुनारायण मन्दिर), चितवन राष्ट्रिय निकुञ्ज, लुम्बिनी र सगरमाथा राष्ट्रिय निकुञ्ज छन् । नेपालले हालसम्म पनौतीसहित १५ वटा ऐतिहासिक एवं पर्यटकीय स्थललाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न युनेस्कोसमक्ष प्रस्ताव गरेको छ ।
पोखरा: नेपाल फोटो पत्रकार संघ (एनपिजेए) कास्कीले स्थापना गरेको ‘फोटो पत्रकार अक्षयकोष’ मा सामाजिक अभियान्ता सरिता गुरुङले आर्थिक सहयोग गरेकी छन् । सामाजिक क्षेत्रमा...
काठमाडौ: सरकारले आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि नेपाली सेनालाई एक महिनाअघिबाट परिचालन गर्ने भएको छ। एकीकृत निर्वाचन सुरक्षा योजना, २०८२ ले स्वीकृत गरेक...
मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् । रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

